गैंडहवा न्युज | लुम्बिनी, कार्तिक ३
रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभएको छ।
सांसदहरू कन्हैया बनियाँ, सुलभ खरेल र तौफिक अहमद खानसहित मर्चवार पुग्नुभएका मन्त्री लम्सालले मर्चावारी माई मन्दिरको दर्शनपछि स्थानीय पूर्वाधारको स्थलगत अनुगमन गर्नुभएको हो।
अनुगमनका क्रममा मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको काम अघि बढाइने जानकारी दिनुभयो। पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले उक्त सडक निर्माणका लागि तत्काल टेन्डर प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।
स्थानीय बासिन्दाले उठाएका मागलाई सम्बोधन गर्दै मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा सर्पदंश उपचार सेवासहितको अस्पताल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, क्षेत्रका स्वास्थ्य चौकी तथा विद्यालयहरूको भौतिक संरचना सुधार गर्न चालु आर्थिक वर्षमा डीपीआर तयार गरी आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिने उहाँको भनाइ थियो।
मर्चवार क्षेत्र लामो समयदेखि सडक, स्वास्थ्य र शिक्षालगायतका आधारभूत पूर्वाधारको विकासको अपेक्षामा रहेको अवस्थामा मन्त्रीको स्थलगत अनुगमन र प्रतिबद्धतालाई स्थानीयले महत्त्वपूर्ण रूपमा लिएका छन्।
सांसद कन्हैया बनियाँले मन्त्रीको स्थलगत अनुगमन र विकास निर्माणसम्बन्धी प्रतिबद्धताले मर्चवारवासीमा विकासको नयाँ आशा जगाएको बताउनुभयो।
सडक विस्तार, सर्पदंश उपचारसहितको अस्पताल निर्माण तथा स्वास्थ्य चौकी र विद्यालयको भौतिक सुधारसम्बन्धी योजनाहरू कार्यान्वयनमा आएमा मर्चवार क्षेत्रका नागरिकले आधारभूत सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
मर्चवारको विकासमा सडक, स्वास्थ्य र शिक्षा प्राथमिकतामा: मन्त्री लम्साल

