रुपन्देहीमा ३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीका सामान बरामद

गैंडहवा न्युज
लुम्बिनी, असोज २० गते । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी–पैठारी गरिएका ३ लाख ४३ हजार ९३४ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, सानो ओडवलियाबाट २ लाख २८ हजार ४ सय रुपैयाँ बराबरका १९६ पिस माला र १०८ पिस चकलेट मस्क पर्फ्युम आयल बरामद गरिएको छ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१३ स्थित हाटबजारबाट ४३ हजार ५३४ रुपैयाँ बराबरका जिम हाउसमा प्रयोग हुने १३ डिब्बा स्किन रेडियन्स कोलाजेन, ४ डिब्बा ‘अनलक टु राइज अबभ द अर्डिनरी’ र ५ प्याकेट एटम ह्वे प्रोटिन बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, ओमसतिया गाउँपालिका–१ स्थित कटैयाबाट ७२ हजार रुपैयाँ बराबरका १८ थान बादशाह सुगन्धित पान मसलाका कभर रोल बरामद गरिएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *