चाडपर्वमा यात्रुको सुरक्षामा प्रहरीको विशेष निगरानी

गैंडहवा न्युज
कपिलवस्तु, नजिकिँदै गरेका दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तु प्रहरीले यात्रुको सुरक्षा र सहज यात्राका लागि विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।
यात्रुलाई सुरक्षित, सहज तथा व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी, सहजीकरण तथा समस्या परेको अवस्थामा तत्काल सहयोग उपलब्ध गराइनेछ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइएको छ। यात्रुको सुरक्षा, सवारी व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणलाई प्रहरीले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।
प्रहरीले चाडपर्वका बेला यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न, ट्राफिक नियमको पालना गर्न र कुनै समस्या परे नजिकको प्रहरी वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *